काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानको प्रयासस्वरूप सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ ।
दुवै पक्षले दुई नेताबीच भेटवार्ता भएको पुष्टि गरेका छन् । भेटमा खड्काले राखेका माग सम्बोधन गर्न सभापति थापा सकारात्मक देखिएको स्रोतले जनाएको छ । यससँगै पार्टीभित्रको विवाद समाधान हुने सम्भावना बढेको बताइएको छ ।
खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यलाई सदस्यता अद्यावधिक नगरेको कारण देखाएर महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने बताउँदै आएका छन् । सबै क्रियाशील सदस्यले महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग छ ।
त्यस्तै, १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई पनि विशेष महाधिवेशनमा समेट्नुपर्ने खड्काको माग छ । यी विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतको दाबी छ ।
यसैबीच, सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान ११ बजे भेटवार्ता हुने भएको छ । भेटमा डा. कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि अघि सारेका प्रस्तावबारे छलफल हुने बताइएको छ ।
डा. कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
त्यस्तै, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने, कार्यसम्पादन समितिमा सभापतिको बहुमत हुने गरी गठन गर्ने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका समितिहरू आपसी सहमतिमा गठन गर्नुपर्ने उनको प्रस्ताव छ । यी प्रस्तावमा खड्काको पनि सहमति रहेको कांग्रेस नेताहरूले बताएका छन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विभिन्न नेताहरूसँग भेटघाट गरिरहेको जानकारी दिए ।
उनले सहमतिको सम्भावना प्रबल रहेको बताउँदै सभापतिले गरेका भेटवार्ता र छलफलका विषयमा आइतबार दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा जानकारी गराइने बताए ।
सहमति जुटेमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन केही समय सर्न सक्ने सम्भावना रहेको प्रवक्ता चालिसेले संकेत गरेका छन् । यसबारे निर्णय कार्यसम्पादन समिति बैठकले गर्न सक्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३