काठमाडौं । जय नेपाल पार्टीले केन्द्रीय तहमा जिम्मेवारी बाँडफाँटलाई निरन्तरता दिएको छ ।
पार्टीका सभापति डा. धवलशमशेर राणाले सामाजिक सम्बन्ध तथा जनसम्पर्क विभागको संयोजकमा ठमानसिंह तामाङलाई मनोनयन गरेका छन् ।
यस्तै, सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीले समितिको सदस्य सचिवमा धनसुर शाही तथा सदस्यमा अन्जना शाह रावल र सुमिरा कार्कीलाई मनोनयन गरेका छन् । उक्त समितिले केन्द्रीय तहका सबै विभाग तथा समितिको सुपरिवेक्षण गर्ने पार्टीले जनाएको छ ।
सभापति राणाले पार्टीनिकट नेपाल युवा संगठनको सभापतिमा चम्पादेवी (चाहना) अधिकारीलाई पनि मनोनयन गरेका छन् ।
त्यसैगरी, सम्पर्क समाज विभागका संयोजक फणीराज (राजु) लोहनीले सदस्य सचिवमा रविराज रञ्जित र सदस्यमा शिवराज रोकायालाई मनोनयन गरेका छन् ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय विभागहरूको गठन तथा विस्तारको काम जारी छ ।
अब पार्टीले देशभर जिल्ला कार्यसमिति गठन गर्ने तयारी थालेको उनले बताए । तदर्थ जिल्ला समिति गठनका लागि चाँडै आवश्यक जिम्मेवारी तोकिने लावतीले जानकारी दिए ।