काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनु अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले राहत रकम सरकारी कोषमा जम्मा गरेर थन्क्याउनुभन्दा सिधै पीडितको हातमा पुर्याउनुपर्ने बताएका हुन् ।
राहत सरकारी कोषलाई नभई पीडित जनतालाई आवश्यक रहेको भन्दै उनले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियतअनुसार मात्र सरकारी कोषमा रकम दाखिला गर्न सकिने बताए ।
कार्यक्रममा ओलीले ‘ग्रिन आर्मी’ नामको समूहको अस्तित्वमाथि समेत प्रश्न उठाए । गत वर्ष राजनीतिक आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनी तथा हत्याका घटनामा उक्त समूह आफ्नो पोसाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्ने विषयमा जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ थियो ।
‘ग्रिन आर्मी’ २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला पनि नदेखिएको तथा गत वर्ष रसुवामा बाढी आउँदासमेत उक्त समूह सक्रिय नभएको ओलीले बताए ।
उनले भने, “के हो यो ग्रिन आर्मी ?”
ओलीले नेपालले वातावरणीय विनाशमा ठूलो भूमिका नखेले पनि त्यसको असर र क्षति भोग्नुपरेको भन्दै विकसित राष्ट्रहरूसँग क्षतिपूर्तिको माग गर्नुपर्ने बताए ।
संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चबाट नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिको क्षतिपूर्ति विकसित देशहरूसँग दृढतापूर्वक माग गर्नुपर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३