काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई १८ बुँदे सुझाव दिएका छन् ।
पुनले बिहीबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहलाई भेटेर भोटेकोसी बाढीबारे १८ बुँदे सुझाव दिएको जानकारी गराएका हुन् ।
उनले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन र राहत वितरणमा प्रभावितलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । साथै, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्तिका लागि पहल गर्न पनि सुझाव दिएका छन् ।
प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सरकारले दातृ निकाय तथा विकास साझेदारहरूको सम्मेलन आयोजना गर्नुपर्ने पुनको सुझाव छ ।
केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन तथा पुनर्निर्माणका लागि संरचना बनाउने दलहरूको निर्णय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई सर्वदलीय बैठक आह्वान गर्नसमेत आग्रह गरे ।
“प्रधानमन्त्रीबाट सर्वदलीय बैठकको आयोजना गरी यस कामलाई तदारुकता दिनुपर्छ । आज सरकारसँग सम्पूर्ण दल, संसद् छ,” पुनले भने ।
उनले विपद् व्यवस्थापन तथा पुनर्निर्माणका विषयमा प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग नियमित संवाद गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३