काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले दिनुपर्ने माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले जलवायु परिवर्तन र कार्बन उत्सर्जनमा विकसित राष्ट्रहरूको ठूलो भूमिका रहेकाले नेपालले भोग्नुपरेको क्षतिको जिम्मेवारी पनि उनीहरूले लिनुपर्ने बताएका हुन् ।
मन्तव्यका क्रममा अंग्रेजी भाषामा समेत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै झाले अब नेपालले राहत नभई क्षतिपूर्ति माग गर्ने समय आएको बताए ।
“बाढीले पुर्याएको क्षति आफ्नो ठाउँमा छ । तर यसको क्षतिपूर्ति कसले व्यहोर्छ ? हामीले राहत होइन, क्षतिपूर्ति माग गर्ने समय आएको छ । यदि हाम्रो कारणले बाढी आएको होइन भने किन क्षति भोग्ने ?” उनले भने ।
कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तन भइरहेको उल्लेख गर्दै झाले यसमा विकसित राष्ट्रहरू जिम्मेवार रहेको बताए । नेपालको कार्बन उत्सर्जनको हिस्सा एक प्रतिशतभन्दा कम रहेको भन्दै उनले अमेरिका, चीन र भारतलगायत मुलुकले ठूलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको दाबी गरे ।
नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिँदै झाले भने, “हामीलाई राहत होइन, क्षतिपूर्ति देऊ भन्नुपर्छ । कार्बनमा जिम्मेवार सबै राष्ट्रले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्छ । हामी अर्को पुस्तालाई यो देश यत्तिकै जिम्मा लगाउन सक्दैनौँ ।”
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) लगायत अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएर नेपालले भोगिरहेको जलवायुजन्य विपद् र क्षतिपूर्तिको विषय जोडदार रूपमा उठाउनसमेत आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३