काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक तेस्रो दिन बिहीबार (भदौ १८) पनि जारी छ।
ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा बिहान ११ बजेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति सदस्यहरूले उठाएका जिज्ञासा, सुझाव तथा राजनीतिक प्रश्नहरूको जवाफ दिइरहेका छन्।
बैठक मंगलबार (भदौ १६)देखि दुई दिनभित्र सक्ने गरी सुरु गरिएको थियो। तर, विभिन्न विषयमा सघन छलफल र सहमति जुटाउन समय लागेपछि बैठक तेस्रो दिनसम्म लम्बिएको पार्टीले जनाएको छ।
पार्टी महासचिव डा. सुरेन्द्रकुमार झाका अनुसार अध्यक्ष यादवको सम्बोधनपछि आवश्यक निर्णयहरू पारित गर्दै बैठक आज साँझसम्म सम्पन्न गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३