काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को समयमा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारका गलत कामलाई समर्थन गर्नु नभएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले सरकारले राम्रो काम गर्दा साथ र समर्थन गर्ने, तर बाटो बिराए खबरदारी र प्रश्नसमेत गर्ने बताए।
“बाटो बिराउँछ, खबरदारी र प्रश्न पनि छ। खास सहयोग यही होइन र? प्रलयकारी त्यो बाढी आएको एक साता बितिसक्यो। सबै ठीकठाक भइरहेको छ त? जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ भने कर्तव्यबाट विमुख रहेको ठहर्छ। त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो,” उनले भने।
सरकारलाई कमजोर बनाउन नभई थप प्रभावकारी बनाउन आफूहरूले प्रश्न गरिरहेको आङदेम्बेले स्पष्ट पारे।
उनले सरकार र सत्तासीन दलका नेताहरूलाई अहिले प्रचारभन्दा नागरिकको ज्यान बचाउने काममा केन्द्रित हुन आग्रह गरे। “सरकार र सत्तासीन साथीहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यो प्रचार होइन, प्राण बचाउने समय हो,” उनले भने।
विपद्का बेला नागरिकको जीवनसँग जोडिएको विषयलाई गालीको विषय नबनाई आत्मसमीक्षाको विषय बनाउनुपर्ने उनको भनाइ थियो। उनले अहिले सबैभन्दा बढी खट्किएको विषय खोज तथा उद्धारकार्य रहेको बताए।
सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइलाई उनले अमानवीय र गम्भीर विषयको संज्ञा दिए। सरकार फिल्डमा भन्दा सामाजिक सञ्जालमा बढी देखिएको टिप्पणी गर्दै उनले सरकार फेसबुकमा मात्रै अल्झिएको आरोप लगाए।
आङदेम्बेले मन्त्री तथा सरकारी अधिकारीहरूको भूमिकामाथि प्रश्न गर्दै भने, “यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्त परेको भए, मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो ‘वाह मन्त्रीजी’ भन्न पोस्ट गरिराख्नुहुन्थ्यो?”