काठमाडाैं । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका १-१ जना संक्रमितको मृत्यु भएको छ ।
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।
यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए ।
यसैगरी डडेल्धुरा जिल्लामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।
बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए ।
शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको सङ्ख्या १६ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७