काठमाडाैं । वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्लामा पुगेर १९औं सत्याग्रह सुरु गरेका छन् ।
जुम्लाको चन्दननाथ–६ रानीचौरमा रहेको वाविरा मन्दिरमा उनले सत्याग्रह थालेका हुन् । नेपालीहरुको नि:शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेको डा.केसीले बताए ।
उनले विभिन्न ६ बुँदे माग अघि सारेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको माग छ।
यसैगरी गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनु पर्ने उनका माग छन् ।
आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डाक्टर केसीले अनसन सुरु गरेका हन् ।
उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७