काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले त्यस्ता संस्था र त्यहाँ छात्रवृत्तिमा अध्ययन चिकित्सकलाई ५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने योजनाअनुसार मन्त्रालयले स्वास्थ्य संस्थालाई माग गर्ने भनेको हो ।
मन्त्रालयले त्यस्ता स्वास्थ्य संस्थालाई आगामी सोमबारसम्म आवश्यक विशेषज्ञ जनशक्तिका लागि निवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार सरकारी कोटामा स्नातकोत्तर अध्ययन गरेका विशेषज्ञ जनशक्तिलाई परिचालन गर्ने उल्लेख छ ।
२ हजार स्वयंसेवा गर्न इच्छुक
कोभिड–१९ को रोकथाम र उपचारका लागि करिब २ हजार स्वास्थ्यकर्मीले स्वयंसेवककाे रुपमा काम गर्न इच्छा देखाएका छन् । मन्त्रालयले केही दिनअघि स्वयंसेवकका लागि आवेदन माग गरेकोमा १ हजार ९ सय ३५ जना स्वास्थ्यकर्मीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सघाउने इच्छा देखाउँदै आवेदन फाराम भरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार आवेदन फारम भरेका स्वयंसेवकलाई उनीहरुले रोजेको ठाउँमा गई अस्पताल तथा स्वास्थ्य संस्थाको आइसोलेसन तथा क्यारेन्टाइनमा रहेका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छन् । मन्त्रालयले इच्छुक चिकित्सक, नर्स, प्यारमेडिक्सलगायत स्वास्थ्यकर्मी र सेवानिवृत्त स्वास्थ्यकर्मीलाई स्वयंसेवकको रुपमा काम गरी कोभिड–१९ को नियन्त्रण गर्न आह्वान गरेको थियो । स्वयंसेवकलाई आफूले स्वयंसेवा गर्न चाहेको जिल्ला, स्थानीय तह र स्थानको आवश्यकता र माग बमोजिम खटाइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७