काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणका कारण नेपालमा थप २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा कपिलवस्तु र बाराका १-१ जना छन् ।
कपिलवस्तुमा मृत्यु भएका पुरुष पत्रकार हुन् । कपिलवस्तुको तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।
मृत्यु भएका पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थियाे । उनका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएर उनीहरु घरमै आइसोलेसनमा बसिरहेका थिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।
यसैगरी कोरोना संक्रमणका कारण वीरगन्जमा उपचाररत बाराका १ पुरुषको पनि मृत्यु भएको छ।
महागढिमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको सोमबार राति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।
उनको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि गत भदौ १४ गते नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए ।
मधुमेहको समस्या समेत रहेको उनको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको चौरसियाले बताए।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७