भक्तपुर । भक्तपुरमा काेराेना संक्रमणका कारण १ महिलाको मृत्यु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका लागि ल्याइएकी स्थानीय ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना संक्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिइन् । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिइन् ।
अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए।
अस्पतालका निर्देशक श्रेष्ठले भने, 'बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो। हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घरमै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना संक्रमण पुष्टि भयो।'
कोरोना संक्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी २ दिनका लागि बन्द गरिएको उनले जानकारी दिए। बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टाइनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७