काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण थप ६ जनाकाे मृत्यु भएकाे छ ।
बाँकेमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकाे छ ।
उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती व्यक्तिलाई भदौ ८ गते बिहान १० बजे नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
यसैगरी कोरोना संक्रमणबाट विराटनगरमा पनि मंगलबार साँझ थप १ जनाको मृत्यु भएको छ । विराटनगर–११ की ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
यसैगरी बाराका २ जना काेराेना संक्रमितकाे उपचारका क्रममा वीरगन्जमा मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी ७० वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए ।
डा.चौरसियाका अनुसार ७० वर्षीय पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचापलगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको डा.चौरसियाले बताए ।
यसैगरी छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । डा.चौरसियाका अनुसार मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए ।
यसैगरी भक्तपुरका १ काेराेना संक्रमितकाे पनि मृत्यु भएकाे छ। सूर्यविनायक नगरपालिका–८ दोकाचाकी कोरोना संक्रमित ५३ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हाे ।
धुलिखेल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडाध्यक्ष किरण थापाले जानकारी दिए ।
यस्तै कैलालीमा पनि थप १ जनाकाे मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७