काठमाडौं । नेपालमा गत २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार १ महिला र ६ पुरुष गरी ७ जनाकाे मृत्यु भएको हाे । उनका अनुसार काठमाडौंमा मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय पुरुष, धनुषाका ७८, पर्साका ६८ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी महाेत्तरी जिल्लामा पनि २ जनाकाे मृत्यु भएकाे छ । याे विवरण भने मन्त्रालयकाे विवरणमा समावेश हुन बाँकी छ ।
महाेत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर ५ का जना ७५ वर्षीय र बलबा नगरपालिका वडा नम्बर ३ का ७७ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो ।
क्यान्सरबाट पीडित सिस्वाका पुरूष केही दिन पहिले चितवनको क्यान्सर अस्पतालमा उपचार गराएर फर्केका थिए । अस्पतालबाट फर्केका उनी घरमै बसिरहेका थिए । उनको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा भर्ना गर्नका लागि जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे ।
त्यस्तै, बलबाका कोरोना संक्रमित पुरूषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान जानेकाे संख्या १ सय ६६ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७