काठमाडाैं । काेराेना संक्रमणका कारण चितवन र पर्सामा १-१ जना महिलाकाे मृत्यु भएकाे छ ।
चितवनमा शनिबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।
ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।
कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
यसैगरी वीरगन्ज ११ श्रीपुरकी ५६ वर्षकी महिलाकाे पनि काेराेनाका कारण मृत्यु भएकाे छ । उनको शनिबार साँझ साढे ७ बजे नारायणी अस्पताल अस्थायी कोभिड हस्पिटलमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
उनी गत साउन २४ गतेदेखि उपचाररत थिइन्।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनको साउन २२ गते स्वाब संकलन गरिएको थियो। साउन २४ गते आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो। त्यसपछि अस्थायी कोरोना अस्पताल भर्ना भएकी थिइन्।
उनलाई कोरोनाका लक्षण देखिएका थिए। ज्वरो आउनका साथै खोकी लाग्ने गरेको थियो। त्यस्तै, थाइरोइड र श्वासप्रश्वासमा समस्या भएपछि आइसियुमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७