काठमाडाैं । काेराेना संक्रमणका कारण नेपालमा थप ५ जनाकाे मृत्यु भएकाे छ । ४ जनाकाे उपचारका क्रममा अस्पतालमा र १ जनाकाे हाेम आइसाेलेसनमा बसेका बेला मृत्यु भएकाे हाे ।
ललितपुरकाे पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ २ गतेदेखि उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र साउन ३१ गत देखि उपचाररत सर्लाहीका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दाेलखाकी महिलामा कोराेनाबाहेक पाठेघर वरपर गम्भीर संक्रमणको समस्या देखिएकाे थियाे भने सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको अस्पतालले जनाएकाे छ ।
उनीहरू दुवै जनाकाे शुक्रबार बिहान मृत्यु भएकाे हाे ।
यसैगरी बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत् प्यूठानका पुरुषको मृत्यु भएको छ ।
प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ७ का ५२ वर्षका पुरुषको शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।
मृतकमा कोरोना संक्रमणसँगै दम र उच्च रक्तचापको समेत समस्या रहेको डा. खनालले बताए । साउनको अन्तिम साता भारतबाट आएका उनी भदौ १ गते राति आइसोलेसनमा भर्ना भएका थिए ।
यसैगरी कारोना भाइरसको संक्रमणबाट वीरगन्जमा थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोक बस्ने ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि भदौ २ गते राति नारायणी अस्पताल भर्ना भएका उनको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे थियाे ।
भदौ ३ गते बिहान अस्थायी कोरोना अस्पताल, वीरगन्ज हेल्थकेयरमा भर्ना गरी उपचारका क्रममा बिहीबार बेलुकी उनकाे मृत्यु भएको हो ।
यसैगरी विराटनगरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा आइसोलेसन शैय्या नपाएपछि हाेम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको ज्यान गएको वडाध्यक्ष विजय कामतले जानकारी दिए ।
उनका अनुसार उच्च रक्तचाप र मधुमेह रोग समेत भएका पुरुषको गएराति ८ बजे ज्यान गएको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७