चितवन । सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस संक्रमणको परीक्षण गर्न पाउने भएका छन् ।
चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न सुरू गरेको छ।
कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमुना जाँच सुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न सुरु गरिने छ। यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उनले बताए ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमुनाको ५ हजार ५ सयमा १० प्रतिशत थप गरी शुल्क लिइने छ । नमुना परीक्षणका लागि ६ हजार ५० रुपैयाँ लिइने उनले बताए ।
कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४ सय जनाको नमुना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्नसक्ने ८ जना प्राविधिक छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा १ हजार २ सय जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।
प्रयोगशाला निर्माणमा ५ करोड ४० लाख रुपैयाँ खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैं शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७