काठमाडाैं । नेपालमा काेराेना संक्रमणका कारण थप २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाँके र काभ्रेका १-१ जना छन् ।
नेपालगन्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण सोमबार राति मृत्यु भएको हाे।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार काेराेनासँग मिल्ने लक्षण देखिएपछि साउन ३२ गते ती पुरूषलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएकाे थियाे ।
ती पुरूषमा निमाेनियाकाे समस्या समेत रहेकाे कार्यलयले जनाएकाे छ ।
यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा ९८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । गएराति साढे १२ बजे धुलिखेल नगरपालिका-६ का रामचन्द्र भिनाजू श्रेष्ठको मृत्यु भएको हो।
उनको स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या थियो । प्लाज्मा थेरापी उपचारबाट वृद्धलाई बचाउन आफन्त लागिपरे पनि समयमै रगत नपाइएका कारण बुवालाई गुमाउनु परेको कान्छा छोरा रामेश्वर श्रेष्ठले बताए।
काठमाडाैंको नयाँ बानेश्वरसमेत बस्दै आएका ती वृद्धमा कोरोना संक्रमण देखिएको थियो । गत साउन २६ गते उनलाई धुलिखेल अस्पतालको आइसियुमा राखिएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७