चितवन । भरतपुर अस्पतालका केही चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोभिड-१९ को संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ।
कोरोना भाइरसको सङ्क्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख र अन्य चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो ।
यस अस्पतालमा चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको थियो । कोरोना सङ्क्रमणका बिरामी पनि त्यही अनुपातमा उपचार भइरहेको थियो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आइतबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको जनाएको छ ।
अस्पतालले जनरल ओपिडी सेवा बन्द गरी एकिकृत आकस्मिक सेवा मार्फत बिरामीको उपचार गरिने जनाएको छ। सञ्चालनमा रहेको आइसियु र मातृशिशु सेवाको हकमा हाल उपचारमा रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिने छ।
आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरुको सेवा यथावत रहने अस्पताल प्रशासनले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७