चितवन । चितवन मेडिकल कलेजले निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए। जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ।
न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको ५ हजार ५ सय रुपैयाँमा १० प्रतिशत थप गरी शुल्क लिइने छ । नमूना परीक्षणका लागि ६ हजार ५० रुपैयाँ लिइने उनले जानकारी दिए।
कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४ सय जनाको नमुना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ। कलेजमा पिसिआर परीक्षण गर्न सक्ने ७ जना प्राविधिक रहेका छन् ।
दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो । उनले भने “टेकुको जस्तै प्रयोगशाला हाम्रो हो । यस्तो नेपालमा अन्यत्र छैन ।” यसलाई बिएसएलस्तरको भनिने उनको भनाइ छ।
प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन्।
निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन्। जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ। भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ।
निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताइन्। रासस
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७