काठमाडाैं । देशका विभिन्न ठाउँमा काेराेना भाइरसकाे संक्रमणका कारण थप ६ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ८९ पुगेकाे छ ।
ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको काेराेना परीक्षण गर्दा पोजेटिभ रिपाेर्ट आएको हाे ।
मंगलबार राति मृत्यु भएकी काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको बुधबार बिहान कोरोना पोजेटिभ रिपाेर्ट आएको हो ।
उनलाई यही २६ साउनमा पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।
यसैगरी कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ ।
जनकपुरको रामा होटेलका सञ्चालक ७३ वर्षीय गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हाे ।
१५ दिनअघि कोरोना संक्रमण पुष्टि भएका गिरीकाे अवस्था बिग्रिँदै गएपछि केही दिनअघि श्री एयरलायन्सको विमान चार्टर गरी काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।
यसैगरी बुटवलको कोरोना विशेष अस्तपालमा उपचारत २ जनाको मृत्यु भएकामा १ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
कपिलवस्तुको कृष्णनगर १२ का २३ वर्षीय युवक र तौलिहवाका ४२ वर्षीय १ पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकाे छ । निधन भएकामध्ये ताैलिहवाका पुरूषमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे कार्यालयले जनाएकाे छ ।
यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको पनि काेराेना संक्रमणका कारण बुधबार बिहान मृत्यु भएको हो ।
श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका बुढीगंगा गाउँपालिका-२ गंगा चोकका ती पुरुषलाई गम्भीर अवस्थामा २६ साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
यता ललितपुरको पाटन अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई मेनिन्जाइटिस पनि भएको थियो ।
यसैगरी सप्तरीमा पनि १ कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनमा काेराेना पुष्टि भएपछि आइसाेलेसनमा लाने क्रममा एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको थियाे ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७