काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १ सय ३४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
मंगलबार काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पाइएको प्रवक्ता गौतमले बताए।
यसैगरी पछिल्लाे २४ घन्टामा थप ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे गाैतमले जनाए । यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ८३ पुगेकाे छ ।
गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका २ जना, काभ्रे र सिन्धुपाल्चोकका १-१ जना छन् । धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा मृत्यु भएको हो ।
त्यसैगरी धनुषाकै क्यानसर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
काभ्रेकी एक महिलाको पनि कोरोना संक्रमणबाट साउन २७ गते मृत्यु भएको छ ।
साउन २२ गते महाराजगन्जकाे मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका सिन्धुपाल्चकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७