काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेपछि नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
देउवा समूहले महाधिवेशनको कार्यतालिका तय गर्न भोलि बैठक बोलाएपछि त्यसअघि आफ्नो समूहको धारणा तय गर्न कोइरालाले नेताहरूसँग छलफल गर्न लागेका हुन् । कोइराला समूहको बैठक विशालनगरस्थित सम्पर्क कार्यालयमा केहीबेरमा सुरु हुने एक नेताले जानकारी दिए ।
कोइरालानिकट नेताहरूका अनुसार उनीहरूको सुरुदेखिकै चाहना एकताको महाधिवेशन गराउने रहेको छ । त्यसका लागि कोइरालाले विभिन्न पक्षसँग वार्ता गरिरहेको उनीहरूको भनाइ छ ।
सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवै पक्षले एक–एक कदम पछि हटेर एकताको वातावरण बनाउनुपर्ने कोइराला निकट नेताहरूको धारणा छ ।
तर एकताको महाधिवेशन सम्भव नहुने अवस्था आए आफूहरू पनि कुनै न कुनै पक्षमा लाग्नुपर्ने उनीहरूको भनाइ छ । यस विषयमा एक–दुई दिनको परिस्थिति हेरेर समूहको धारणा तय गरिने बताइएको छ ।
इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएर सम्बोधनसमेत गरेका कोइराला भने पार्टी विभाजनको पक्षमा नरहेको उनी निकट नेताहरूले बताएका छन्।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३