काठमाडौँ । सांसद प्रदीप यादव कोरोना भाइरस मुक्त भएका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेर आफू संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।
साउन १६ गते कोरोना पुष्टि भएर घरमै आइसोलेसनमा बसेका पर्साका सांसद यादवले आफ्नो १२ दिनपछि गरेको दोस्रो परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी दिएका छन् ।
डाक्टरको सल्लाह–सुझाव अनुसार आत्मानुशान कायम गरी सुरक्षित रुपमा आइसोलेसनमा बसेकाले कोरोनालाई जित्न सफल भएको उनले उल्लेख गरेका छन्।
अझै ७ दिन घरमै आइसोलेसनमा बस्ने उनले बताएका छन् । उनले सुरक्षात्मक उपाय अपनाउन र भयभित नहुनु सबैसँग आग्रह पनि गरेका छन् ।
यादवसँगै उनका पिएसओ र चालकलाई पनि कोरोना देखिएको थियो । पिएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएको यादवले जनाए ।
खानपानमा विशेष ख्याल गरेकाले औषधि नखाई आफू संक्रमण मुक्त भएको उनले बताएका छन् । दैनिक २ वटा प्याज, २२ केस्रा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन ३ पटक खाएको उनले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७