बाँके । बाँकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएका १२ जना संक्रमित सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।
उनका अनुसार, भेरी अस्पतालबाट स्वाब संकलन गरी २३ साउनमा कोरोना संक्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४ गते संक्रमित पुष्टि भएका नेपालगञ्ज–१२ का २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् ।
यसैगरी, २४ साउन संक्रमित भएका नेपालगञ्ज १९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ । उनीहरू महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए ।
२२ साउनमा वडा प्रहरी कार्यालयबाट स्वाब संकलन गरी २५ गते संक्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, ४ र २ वर्षका २ बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए ।
पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७