वीरगन्ज । वीरगन्जमा काेराेना संक्रमणका कारण थप १ जनाकाे मृत्यु भएकाे छ ।
वीरगन्जका विभिन्न अस्पताल पुर्याए पनि उपचार नपाएर मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
वीरगन्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको मृत्युपछि गरिएकाे पिसिआर परीक्षणमा रिपोर्ट काेराेना पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख डा. मदन उपाध्यायले जानकारी दिए ।
शुक्रबार राति स्वासप्रस्वासमा समस्या आएपछि वीरगन्जको ७ वटा अस्पतालमा चहार्दा चहार्दै कुनै पनि अस्पतालले भर्ना नलिँदा उनको बाटोमै मृत्यु भएको थियो ।
वीरगन्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले भने अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताए ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७