काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएकाे जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
थपिएका संक्रमितमध्ये ६२ जना काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घण्टामा काठमाडाैंका ५६, भक्तपुरका ३ र ललितपुरका ३ जनामा कोरोना देखिएकाे गौतमले बताए ।
यससँगै काठमाडाैं पनि उच्च जोखिमयुक्त जिल्लाको सूचीमा परेको छ । मन्त्रालयले ५ सयभन्दा धेरै संक्रमित हुने जिल्लालाई सक्रिय संक्रमित जिल्लाको सूचीमा राख्ने गरेको छ ।
यसैगरी शनिबार देशभरबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसहित नेपालमा हालसम्म १६ हजार ३ सय १३ जना उपचारपछि निको भएका छन् ।
हाल ६ हजार २ सय ६ जना संक्रमितको उपचार भइरहेको छ।
यसैगरी पछिल्लाे २४ घन्टामा नेपालमा थप ३ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे मन्त्रालयले पुष्टि गरेकाे छ ।
पछिल्लो पटक पर्साकाे वीरगन्ज ३ का ७४ वर्षका पुरुषको २३ गते गण्डक कोभिड अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै, मोरङकाे विराटनगरका ५८ वर्षका पुरुषको २३ गते कोशी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी, २३ गते नै काठमाडौं टोखाकी ४१ वर्षकी महिलाको पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ७३ पुगेकाे छ ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७