काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार ४५ वर्षीय पुरूष र ४१ वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमित महिलाको शुक्रबार बिहान ११ वजे र संक्रमित पुरुषको बिहान ९ बजे मृत्यु भएको उनले बताए ।
सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेपछि १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो ।
यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना गरिएकाे थियाे ।
पाठेघरको क्यान्सर र निमोनियाको बिरामी रहेकी उनको उपचारका क्रममा मृत्यु भएको हाे ।
यसअघि बिहीबार पनि पाटनमै उपचाररत ४५ वर्षीय पुरूषको मृत्यु भएको थियो ।
यसैगरी विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएका ५८ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको छ।
विराटनगर-९ निवासी उनको स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हाे । शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमै उनकाे मृत्यु भएको थियो।
मृत्युपछि गरिएकाे उनको स्वाब परीक्षणमा कोरोना पाेजेटिभ देखिएकाे हाे । ती पुरुषमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या रहेको बताइएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७