काठमाडाैं । काेराेना संक्रमणका कारण नेपालमा थप ४ जनाकाे मृत्यु भएकाे छ।
सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनकाे बिहीबार राति मृत्यु भएको हाे ।
मिर्गौला रोगी उनी डायलासिस गर्न धरान पुगेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि उनको उपचारकै क्रममा मृत्यु भएकाे हाे ।
उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने छ । उनको कन्ट्याक्टमा आएका परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैगरी पर्सामा पनि कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-११ श्रीपुरका ७९ र ५७ वर्षीय २ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएकाे छ ।
अस्पतालका अनुसार उनीहरु दुवैमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
चिकित्सकका अनुसार मृतक दुवै मुटु र स्वासप्रस्वास रोगबाट पीडित थिए ।
यता पाटन अस्पतालमा उपचाररत १ पुरुषको पनि काेराेनाका कारण मृत्यु भएको छ । अस्पतालका अनुसार वीरगन्ज का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
उपचारका क्रममा मृत्यु भएका ती संक्रमित मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७