काठमाडौं । मंगलबार काठमाडौँ उपत्यकामा थप ६२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मिडिया ब्रिफिङका क्रममा विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।
थपिएका संक्रमितमा काठमाडौँका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जना छन् ।
गत २४ घन्टामा देशभरका प्रयाेगशालामा गरिएकाे ७ हजार ६ सय ८७ जनाकाे पिसिआर परीक्षणमा देशभर २ सय ५९ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ ।
याेसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ भने हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २५ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना उपचारपछि निकाे भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यससँगै काेराेनामुक्त हुनेकाे संख्या १५ हजार २६ पुगेकाे छ । यस हिसाबले नेपालमा ७१.५ प्रतिशत संक्रमित निकाे भएकाे प्रवक्ता गौतमले बताएका छन्
नेपालमा अहिलेसम्म कुल ४ लाख ६ हजार ५ सय ९४ जनाकाे पिसिआर परीक्षण गरिएको छ ।
यसैगरी नेपालमा अहिलेसम्म कोरोना भाइरसकाे संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७