काठमाडाैं । सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ ।
काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको छ ।
पछिल्ला दिनमा काठमाडौँमा संक्रमण दर बढिरहेकोले मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।
मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका र शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई नजिकको केन्द्रमा गएर स्वाब दिन आग्रह गरेको छ । यी केन्द्रमा बिहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिने छ ।
यीबाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७