काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिए ।
आइतबार थपिएका संक्रमितमध्ये ३१ जना काठमाडाैं उपत्यकाका छन् । प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
यससँगै नेपालमा काेराेना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेकाे छ भने सक्रिय संक्रमितकाे संख्या ५ हजार ६ सय ७२ छ ।
यसैगरी आइतबार १ सय ११ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ पुगेकाे छ ।
यसैगरी पछिल्लाे २४ घन्टामा थप १ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ । प्रवक्ता गाैतमका अनुसार मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीया महिला छिन् ।
शुक्रबार पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएकी ती महिलाको शनिबार साँझ नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यससँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ५७ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७