काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको काम भइरहेकाले सबै क्वारेन्टाइनमा बसेको महाशाखाले जनाएकाे छ ।
महाशाखाका प्रहरी क्वारेन्टाइनमा रहेपछि अन्य युनिटबाट जनशक्ति ट्राफिक व्यवस्थापनमा खटाइएको छ । पछिल्लो समय काठमाडौंमा प्रहरीमा कोरोना संक्रमण बढी देखिन थालेको छ ।
महाशाखाका प्रवक्ता वामदेव गौतमले सहकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्रै बसिएको जानकारी दिए ।
उनीहरुको रिपोर्ट नआएसम्म बग्गीखानाबाट हुने सबै काम स्थगित गरिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका २ जनालाई भने बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७