१४ पौष, काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कंगोका धेरै शरणार्थीहरु लगातार जाम्बियातर्फ प्रवेश गरिरहेका छन् । देशमा राजनीतिक अस्थिरताका कारण उनीहरु आफ्नो देश छाडेर छिमेकी देशतर्फ गएको राज्यद्वारा सञ्चालित आधिकारीक समाचार संस्थाले बुधबार जनाएको छ । आफ्नो कार्यकाल सकिदासमेत राष्ट्रपति जोसेफ कविलाले पद नछोडेकाले कङगोमा राजनीतिक तनाब बढ्दै गएको छ ।
जाम्बिया समाचार तथा सूचना सेवाका अनुसार जाम्बियाको उत्तरी क्षेत्रबाट २३३ जना शरणार्थी जाम्बिया प्रवेश गरेका छन् । जाम्बियाका गृहमन्त्री चिलेस मुलेङगाले कानुनपालना गराउने विभिन्न निकायसँग मिलेर उनीहरुको समस्या समाधान गर्नका लागि नजिकबाट काम भइरहेको बताउनुभयो । जाम्बिया रेडक्रस सोसाइटीले गतसाता सार्वजनिक गरेको तथ्याङकअनुसार कुल ३५० जना स्वयम्सेवक सीमा क्षेत्रको प्रवेशद्वारमा बसेर शरणार्थीका लागि काम गरिरहेका छन् । मानवअधिकारवादी संघसंस्थाले पनि एक हजार भन्दा बढी शरणार्थीलाई गतहप्ता मात्रै विभिन्न सहयोग गरेको बताएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७३