काठमाडाैं । बुधबार नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् ।
माेरङका १ जना र पर्साका २ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे हाे ।
बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका ती संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो ।
ज्वरो र स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार काेसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनलाई स्वाब संकलनपछि कोसी अस्पतालकै आइसाेलेसनमा भर्ना गरिएकाे थियाे ।
बुधबार बिहान आएकाे रिपार्टमा काेराेना पोजेटिभ देखिएको थियो ।
यता, वीरगन्जमा पनि बुधबार नै २ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ७१ र ६८ वर्षीय पुरुष छन् ।
गत साउन ८ गते कोरोना पुष्टि भएका ६८ वर्षीय पुरुषको वीरगन्जको नारायणी अस्पतालअन्तर्गतको अस्थायी कोभिड अस्पतालको आईसीयुमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हाे ।
उनलाई मुटुको समस्या देखिएपछि आईसीयुमा राखिएको थियो ।
त्यसैगरी मंगलबार राति नेसनल अस्पतालमा भर्ना भएका ७१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएकाे हाे ।
उनलाई श्वासप्रश्वास र मिर्गौलाको समस्या देखिएपछि मंगलबार राति नै अस्पताल भर्ना गरिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७