काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वीरगन्जमा उपचाररत भारतका १ पुरुष र धनुषाका अर्का १ पुरुषकाे मृत्यु भएकाे हाे ।
वीरगन्जकाे गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि साउन १० गते उनलाई आइसियुमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।
उनलाई एक हप्तादेखि ज्वरो आइरहेको थियो । डा उपाध्यायका अनुसार ती पुरुष मधुमेहका बिरामीसमेत थिए ।
यसैगरी धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहका अनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
उनलाई करिब १ हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा शनिबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आइतबार उनको रिपोर्ट पोजेटिभ आएको हो। ती पुरुषमा कुनै प्रकारको दीर्घ रोग देखिएको थिएन ।
यससँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ४७ पुगेकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७