काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
भोलिको बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । उक्त प्रस्तावमाथि सबै दलका नेताहरूले धारणा राख्नेछन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीसँगै आएको गेग्रानका कारण नदीको बहाव एक्कासि बढ्दा आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
बाढीले स्थानीय बस्ती तथा पूर्वाधारसँगै कैलाश हिमाल र मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढीमा परी ९८७ जनाको शव फेला परेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । बाढीमा २७९ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ जनाको शव फेला परेको छ ।
हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
गत भदौ १० गते बसेको प्रतिनिधिसभा बैठक त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको थियो । महाविपद्को विषयमा छलफल गर्न भोलि पुनः बैठक बस्न लागेको हो।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३