काठमाडौं । गुगल म्याप्सले अमेरिकी प्रयोगकर्ताका लागि क्यानडा र अमेरिकाको सीमामा रहेको ओन्टारियो तालको नाम ‘लेक अमेरिका’ राखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि अमेरिकाको भौगोलिक सूचना प्रणालीमा नाम परिवर्तन गरिएसँगै गुगल म्याप्सले पनि आफ्नो नक्सा अपडेट गरेको हो ।
अब अमेरिकी प्रयोगकर्ताले तालको नाम ‘लेक अमेरिका’ देख्नेछन् भने क्यानडाका प्रयोगकर्ताले पुरानै ‘लेक ओन्टारियो’ देख्नेछन् । अन्य देशका प्रयोगकर्ताका लागि भने दुवै नाम देखाउने व्यवस्था गरिएको गुगलले जनाएको छ ।
क्यानडा र अमेरिकाबीच व्यापारिक तनाव जारी रहेका बेला ट्रम्पले तालको नाम परिवर्तन गर्ने आदेश दिएका हुन् ।
ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले तालको किनारमा ‘लेक ओन्टारियो : नाउ एन्ड अलवेज’ लेखिएको बोर्ड राख्दै ट्रम्पले नाम परिवर्तन गरे पनि विश्वले यसलाई लेक ओन्टारियोकै रूपमा चिनिरहने बताएका छन् ।
गुगल म्याप्सको डेटा प्रयोग गर्ने क्यानडा सरकारका केही आधिकारिक वेबसाइटमा समेत ‘लेक अमेरिका’ देखिएपछि त्यसलाई सच्याउने काम भइरहेको जनाइएको छ ।
यसअघि सन् २०२५ मा पनि गुगलले मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ राखेको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३