काठमाडौँ । नेकपा एमालेका नेता एवम् पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले विद्यालय बन्द गराउने पक्षबाट त्यसको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था हुनुपर्ने बताउनुभएको छ । विद्यालय शान्ति क्षेत्र कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता कार्यान्वयनबारे आज शिक्षा पत्रकार समूहले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले आफ्नो पालामा विद्यालय शान्ति क्षेत्र घोषणा भई कार्यान्वयनका निर्देशका जारी भएको बताउँदै त्यसको पालनाका लागि कानुनी व्यवस्था गरी विद्यालय बन्द हड्तालकर्ताबाट क्षतिपूर्ति भराउनुपर्ने बताउनुभयो ।
विसं २०६८ जेठ ११ मा मन्त्रिपरिषद्ले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो । उहाँले शान्ति क्षेत्रको कार्यान्वयनका लागि राजनीतिक दल, सरकार र अभियानकर्मीले निरन्तर पहल गर्नुपर्ने तथा यसका लागि नीतिगत र बजेट, कार्यक्रमको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष कृष्ण सुवेदीले नागरिक क्षेत्रले विद्यालय शान्ति क्षेत्रको कार्यान्वयनका लागि उठाएको आवाजमा राजनीतिक समर्थन आवश्यक भएको बताउनुभयो । कार्यक्रममा शिक्षक, अभिभावक तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिले दलहरुले आफ्ना प्रतिबद्धता पालना गरी बालअधिकारको हनन गर्न नहुनेमा जोड दिएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७३