काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पनि पार्टीको १५औँ महाधिवेशनको तयारी सुरु गरेको जनाएको छ।
संस्थापन पक्षले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा इतर समूहले पनि छुट्टै तयारी थालेको हो।
सर्वोच्च अदालतले पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदनमा कांग्रेसको १५औँ महाधिवेशन रोक्न प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि संस्थापन पक्षलाई महाधिवेशन प्रक्रिया अघि बढाउन सहज भएको थियो।
यस्तो अवस्थामा इतर समूहले पनि महाधिवेशन लक्षित संगठनात्मक तयारी अघि बढाएको नेता एनपी साउदले बताए। उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रमा संयोजक तोक्ने तथा क्रियाशील सदस्यतासम्बन्धी कामलाई प्राथमिकतामा राखिएको छ।
“हामी महाधिवेशनको चटारोमा छौँ। सबै जिल्लामा, निर्वाचन क्षेत्रमा संयोजक तोक्नुपर्यो। गत पुसभित्र दिइएको नयाँ क्रियाशील सदस्यलाई निरन्तरता दिनुपर्यो,” साउदले भने, “चुनावको बेला नयाँ सदस्य बनेका छन् भने उनीहरूलाई संयोजकमाफर्त नयाँ क्रियाशील दिनुपर्यो।”
उनले संगठनात्मक तयारीका लागि समय आवश्यक रहेको भन्दै असोजको पहिलो सातादेखि वडा अधिवेशन गर्ने तयारी भइरहेको बताए। उनका अनुसार इतर समूहले असोजको अन्तिम सातातिर १५औँ महाधिवेशन गर्ने तयारीका साथ अघि बढेको छ।
महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न इतर समूहले भदौ १७ गते केन्द्रीय समिति बैठकसमेत बोलाएको छ।
इतर समूहका नेता विमलेन्द्र निधिले शीर्ष नेताहरूबीच शनिबार भएको छलफलले छुट्टै रूपमा १५औँ महाधिवेशन गर्ने निर्णय भएको बताए। उनले बाढीको अवस्था र राजनीतिक चुनौतीलाई समेत ध्यानमा राखेर आगामी रणनीति तय गरिने बताए।
छुट्टै दल गठन गर्ने तयारी हो कि भन्ने प्रश्नमा निधिले तत्कालको प्राथमिकता नेपाली कांग्रेसको १५औँ महाधिवेशन रहेको स्पष्ट पारे। “हामी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिले गर्ने हो। दल गठन गर्ने कुरा पछिको हो,” उनले भने।