काठमाडाै । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर केही दिनयता उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् ।
स्वास्थ्य अवस्थामा सुधार भएपछि प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ४ बजे महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर’ बाट डिस्चार्ज भएका हुन्।
सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएकाे जानकारी दिए । अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे। उनी केही बोलेनन्। ओलीलाई अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार लगिएको छ।
उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनेछन् । ‘उहाँलाई अझै आरामको जरुरत रहेको छ’, उनले भने, ‘उहाँलाई बालुवाटारमै आरामको व्यवस्था मिलाइएको छ। हामी बालुवाटारमै गएर उहाँको स्वास्थ्य अवस्थाको निगरानी गरिरहनेछौँ ।’
अस्पतालका अनुसार प्रधानमन्त्रीलाई डिस्चार्ज गरेसँगै नियमित निगरानीका लागि १ जना नर्स साथमै पठाइएको छ । एपेन्डिसाइटिसपछि उब्जिएको समस्या निदान भइसकेको छ। हामीले निगरानीका लागि एकजना नर्स पनि पठाएका छौँ , डा उत्तमकृष्ण श्रेष्ठले भने, उहाँलाई आवश्यक परेका बेला फलोअप आउन सक्नुहुन्छ। केही परेमा हामी आफैँ बालुवाटार जान सक्छौँ ।
प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको अप्रेसन भएपछि उपचार हुँदै आएकाे थियाे ।
प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम कम गर्न थालेपछि मृगाैला पुनप्रत्यारोपण गर्ने चर्चा चलिरहेकाे थियाे । तर मृगाैला प्रत्याराेपण गर्नुअगावै उनकाे एपेन्डिसाइटिसमा समस्या आएपछि शल्यक्रिया गर्नुपरेकाे थियाे ।
उपचार खर्च साढे २ लाख !
प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० दिन अस्पतालमा उपचार गराउँदा करिब साढे २ लाख रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्टका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तमकुमार श्रेष्ठले प्रधानमन्त्रीको उपचारमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६