लोकगीत,संगीत समाज र संस्कृतिको ऐना हो । लोकगीतको कुनै पर्व हुँदैन तर लोकगीत बिना कुनै पर्व पूर्ण पनि हुँदैन । समाज,संस्कार अनि संस्कृतिको पर्याय बनेको लोक गीतलाई पछिल्लो समयमा सिर्फ मनोरन्जनको एउटा माध्यमका रुपमा मात्र हेर्न थालिएको छ ।
लोकगीतमा दुइ अर्थ लाग्ने शब्दको प्रयोग आजका युगले मात्र हैन लोकगीतको सुरुवात देखि नै हुँदै आएको बताइन्छ तर त्यसलाई कसरि प्रयोग गर्ने,मिठास भर्ने भन्ने चेतना अग्रज स्रस्टामा भरपुर थियो।
लोक गीतको एउटा स्तम्भ मानिने बरिष्ठ गायक कुमार बस्नेतका प्राय गीत महिला र पुरुषबीच हुने ख्याल ठट्टामा आधारित हुन्थ्यो र हुँदै आएको छ। तर त्यसलाई रमाइलोको लागि मात्र लिने नाच्ने,गाउनेमा मात्र सिमित बनाउन सकिने,त्यति धेरै खोतल खाताल परेर विश्लेषण गर्न नपर्ने खालका छन् । बस्नेतलाई पनि उनका समकालीन साथीहरुले,मिडियाहरुले छाडा गायक,सर्जक भनेर आरोप नलगाएका त हैनन् तर उनलाई समाजभन्दा बाहिर गएको अपाच्य शब्द सिर्जना गरेको अस्लिलता फैलाएको आरोप कहिले लागेन।
आज च्याउसरि उमारिएका युट्युब च्यानल,त्यतिकै हाराहारीमा अनलाइन न्युज पोर्टल,स्टुडियो अनि जो पनि कलाकार बन्ने होडले समाजको ऐनाका रुपमा हेरिने लोक तथा दोहोरी गीतलाई प्रत्यक्ष असर परेको देख्न सकिन्छ। जो पनि गायक,गायिका,अनि सर्जक त्यसैमाथि मोडल पनि उस्तै प्रकृतिका भएपछी त्यसलाई रोक्ने,छेक्ने अनुगमन गर्ने भरपर्दो निकायको अभाव हुँदा लोकसंगीतमा अस्लिलता आकासमा पुगेको देखिन्छ।
लोकदोहोरी प्रतिष्ठान,त्यसका विभिन्न जिल्लामा रहेका शाखा,उपत्यका समन्वयन समिति,लोक संचारमा काम गरिरहेका पत्रकारहरुको संस्था,क्षेत्र पिच्छेका भेगीय संस्थाहरु नभएको हैन तर त्यसको आफ्नै किसिमको सिमा भएकाले चाहेर पनि लोकगीतमा देखिएको बिकृतिलाई रोक्न सकिरहेका छैनन्।
युट्युबमा एउटा आफ्नो व्यक्तिगत च्यानल बनाउने,दुई चार जना साथीहरु जम्मा गर्ने,भाडामा ड्रेस व्यवस्था गर्ने र आफुलाई म नामी गायक गायिका हुँ भनि दावी गर्ने प्रायको पैसा मोह ,नामको मोह र चर्चाको मोहले गर्दा आज लोकगीतलाई हेर्ने दृष्टिकोण नै बदलिएको छ ।
पछिल्लो समयमा बजारमा आएका रेकर्डेड गीत र भिडियोनै भ्युजको मोहले तितर बितर भएको छ भने, सुर न ताल भएका आफुलाई सर्जक कलाकार हुँ भन्ने रुचाउनेसंग त झन् के अपेक्षा गर्न सकिन्छ र ?
राम्रा लोक गीत बनाएर के गर्नु दर्शक नै हुदैनन्,भ्युज नै आउदैन,लगानी उठ्दैन भनेर गुनासो गर्ने सर्जक पनि छन् कति त । राम्रा लोकगीत सुन्दैनन्,हेर्दैनन् भनेर कसले भन्दियो ? सिर्जना राम्रो हुनुपर्यो,राम्रा सिर्जना चलेका उदाहरण हेर्नुपर्यो नचल्ने कुरै हुँदैन ।
पछिल्लो समय अस्लिल भिडियो नबनाई,अस्लिल शब्द प्रयोग नगरी सिर्जना गरेका धेरै लोकगीतहरु राम्रा बनेका छन्। उदहारणकै लागि प्रकाश दुतराजका प्राय गीत करोड क्लवमा प्रवेश भएका छन् । उनका सिर्जना लोकगीत भित्र पनि टिपिकल छन् । सुजन चापागाईका केहि लोकगीत त्यतिकै राम्रा र भ्युज गएका छन् ।
दोहोरीमा पनि कतिपय राम्रा गीतले भ्युज पाएका छन् । प्रतिक्रिया राम्रा आएका पनि छन् । सबै लोक तथा दोहोरी गीत नराम्रा छन् अस्लिल छन् भन्न खोजेको हैन तर धेरै लोकगीत राम्रा भएपनि थोरै नराम्रा सृजनाले गर्दा समग्र लोक तथा दोहोरी नै बदनाम छ । भनिन्छ नि बोरामा एउटा कुहिएको आलु छ भने सबै बोराको आलु कुहिन्छ,नकुहिएपनि गन्हाउछ । त्यस्तै भएको छ लोक संगीतमा पनि केहि त्यस्ता तत्व छन् जसलाई लोक संगीतको महत्व थाहा छैन,खाली पैसा र नाम चाहिएको छ अनि जसरि हुन्छ आफु चल्नु छ,संस्कार र संकृति जाओस भाडमा ।
प्रत्यक्ष दोहोरीको नाममा पछिल्लो समय युट्युब भरिएको छ। तर तिनलाई के थाहा प्रत्यक्ष दोहोरीको महिमा ? मौलिक मनोरञ्जन, प्रतिभाको पहिचान र प्रस्फुटनमा परम्परागत रूपमा हुने प्रत्यक्ष दोहोरी माया प्रेम, सदभाव, नाता सम्वन्धलाई मिठास थप्ने एउटा आधार हो ।
लाइभ दोहोरीको नाममा प्रयोग हुने भद्दा शब्द,हाउभाउले लोकगीतको बास्तविक मर्ममाथी प्रहार भैरहेको छ। तर लाइभ दोहोरीप्रति मान्छेहरूको आकर्षण बढ्ने क्रम भने घटेको छैन । रेडियो, टेलिभिजनमा सुनिएका रेकर्डेड गीतहरू भन्दा लाइभमा गाइने दोहोरी गीतले दर्शकहरूलाई आकर्षित गराइरहेका छन् ।
लोकदोहोरी त एउटा बौद्धिकताको खेल पनि हो। यसमा कुनै स्क्रिप्ट हुदैँन। यसका लागि अध्ययन, अभ्यास र शब्द छनोटको पूर्ण ज्ञान हुनुपर्छ। तर राम्रा शब्द प्रयोग गर्यो भने मानिसहरु हास्दैनन भन्ने भ्रम कतिपय कलाकारलाई हुने गर्छ । मनोरन्जन लिनु भनेको हास्नु मात्र हैन सुनेर आनन्द लिनु पनि हो भन्ने ज्ञात हुन जरुरि देखिन्छ ।
दोहोरी शहर पसेपछि
सिर्जना पस्किने मञ्च बनिरहेको युट्यूब केही वर्षयता गीत मार्फत आम्दानी गर्ने माध्यम बनेको छ । गीतका विभिन्न आयाम नहेरी युट्यूब भ्युजका आधारमा गीतको मूल्यांकन गर्नु सर्जकमाथि अन्याय हुन्छ । सच्चा लोकदोहोरी गीतले स्थानीयपन, लोक आयाम र मौलिकता बोकेको हुन्छ ।
पहिले -पहिले मेला महोत्सव,सामाजिक पर्व,घास -दाउरा गर्दा गाइने गीतलाई जसरि शहरीकरण गरिदै लगियो त्यसैगरी यसमा बिकृति थपिदै गयो । शहरमा बस्नेले लोक गीत सुन्दैनन्,माया गर्दैनन् भनेको हैन तर देश अनुसारको भेष हुन्छ नै । गाउँमा घास दाउरा गर्दा गाइने गीत शहर पसेपछि त्यहि स्वरुपमा नहुन सक्छ ।
आजभन्दा सय बर्ष अगाडी जुन स्वरुपमा थियो,जसरि सिर्जना गरिन्थ्यो आजपनि त्यहि गर्नुपर्छ भन्ने कदापी हैन तर मर्म त उही हुनुपर्यो नि ? साडी चोलो र दौरा सुरुवालबाट अगाडी बढेर सर्ट पेन्ट अनि कुर्तासम्म पुग्नु ठिकै हो सिधै बिकिनी र वान पिसमा पुग्नु त भएन नि । 'छोरी भन्दा आमा तरुनी' सम्म भन्न सकियो तर आमा छोरी दुबैलाई श्रीमती बनाएर लान्छु भन्ने शब्द चयन गर्नु त भएन नि ।
'प्रत्यक्ष दोहोरी' कलाकार उत्पदान गर्ने पाठशाला
कुनै समय दोहोरी साँझ र प्रत्यक्ष दोहोरी प्रतियोगिता कलाकार उत्पादन गर्ने ‘पाठशाला’ जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझ र प्रतियोगितालाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चल्तीका लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन अधिकारी, रामजी खाण,देवी घर्ति,टिका पुन लगायत अन्य थुप्रै कलाकार पनि प्रत्यक्ष दोहोरीबाटै आएका हुन् ।
प्रत्यक्ष दोहोरी त प्रशिक्षण केन्द्र जस्तै हो नयाँ आउने पुस्तालाई तर अब क्यासेट को जमाना हराईसकेपछी प्रत्येक कलाकार आफनै च्यानल मार्फत जस्तो सुकै सिर्जना होस् आफुलाई प्रस्तुत गरिरहेका छन। कुरो बिग्रिएको पनि यहीं हो, न कुनै अनुगमन,न नीति अनि आफुलाई जसरि प्रस्तुत गर्न मन लाग्यो गर्यो,कसरि भ्युज आउछ त्यतै तिर जोड दियो ।
प्रत्यक्ष दोहोरीबाट आफुलाई स्थापित गरेका कलाकारहरु भने यसबाट आफुहरुलाई दुख लागेको बताउँछन्। रेकर्डेड गीत गाउनलाई अडिसन दिए जस्तै थियो लाइभ दोहोरी तर अहिले दोहोरीमा सबै आफै लगानीकर्ता,गायक-गायिका सर्जक भएपछी यसको महिमा घटेको छ ।
तुलनात्मक रुपमा दोहोरी सुन्ने मान्छेको संख्या बढेको भएपनि यसलाई राम्रो छ भन्नेको संख्यामा भने उलेख्य कमि आएको छ । भ्युज भन्दापनि भिडियोमा आएको कमेन्टलाई आधार बनाएर हेर्ने हो भने बजारमा आएकामध्ये १० प्रतिशत दोहोरीले मात्र राम्रो प्रतिक्रिया पाएको देख्न सकिन्छ ।
नियमनकारी संस्थाको अभाव
लोकदोहोरीलाई भद्दा,छाडा हुन बाट रोक्न सक्ने कुनै त्यस्तो सरकारी संस्था छैन । लोक दोहोरी कलाकारको छाता संगठन त छ तर त्यसलाई कुनै सृजनालाई ब्याण्ड गर्ने कलाकारलाई कारवाही गर्ने अधिकार छैन । सम्झाउने,यसो नगर्नुस भन्ने बाहेक कुनै अधिकार नभएको संस्थाको आग्रह ति सर्जक कलाकारले किने मान्थे फेरी ? यी र यस्ता गतिछाडा कलाकारलाई रोक्न सक्ने भनेको सचेत दर्शक र स्रोताले नै हो । मर्यादा भन्दा बाहिरका सृजनालाई आफुले नहेरीदिएर,नसुनिदिएर स्वत बहिस्कार गर्नुको बिकल्प छैन ।
स्टेज कार्यक्रममा बन्देज
हुन त आयोजकलाई दर्शक चाहिन्छ,दर्शक रमाइलो चाहन्छन,रमाइलो भनेको अस्लिलता मै हुन्छ भन्ने गलत बुझाइ हामी सबैमा छ । दर्शक तान्न छाडा कलाकारलाई स्टेजमा स्थान नदिने हो भनेपनि आधा भन्दा धेरै कलाकारहरु स्वत सुध्रिने थिए । स्टेज पाउन,देश विदेश घुम्न अझ भनौ आफुलाई चर्चामा राखिराख्न पनि धेरै कलाकारहरु नचाहिदो हर्कत गरिरहेका हुन्छन । त्यसलाई रोक्न दर्शक,स्रोता सजक बन्न आवश्यक छ ।
लोकदोहोरी प्रतिष्ठानले एउटा अभियान चलाएको पनि थियो,जसको उद्देश्य लोकगीतमा अझ भनौ दोहोरीमा देखिएको बिकृति विसंगति अन्त्य गर्नु । तर कस्ता कार्यलाई अथवा कति सम्मको शब्दलाई भिडियोलाई ठिक भन्ने,कस्तो लोकगीतलाई बन्देज लाउने भन्ने बिषयमा नै विवाद देखिन्छ । कतिपय सर्जक दर्शकले जे चाह्यो त्यो ठिक भनिरहेका छन् भने कतिपयले समाज र संस्कृतिलाई आधार बनाउनुपर्छ भनिरहेका छन् ।
युट्युबमा भ्युज गएकै आधारमा आफ्नो गीत चलेको छ भनेर आफुलाई सर्वश्रेष्ठ ठान्ने कलाकारको पनि कमि छैन । आजभोलि राम्रा सिर्जना भन्दा भद्दा सिर्जनाले बजार पाएको बिषयलाई हामीले भुल्नु हुदैन । जहाँ चल्नकै लागि समाज भन्दा पर संकृति भन्दा पर गएर सिर्जना गर्नुपर्छ भने त्यस्ता सर्जकले आफुलाई कसरि म कलाकार हुँ,सर्जक हुँ भनेर चिनाउने फेरी ?
अन्त्यमा,एकपल्ट हामीले सोच्न जरुरी छ,लोकगीत,संगीत हाम्रो चिनारी हो । देशले आफ्नो अस्तित्व जोगाउने हो परदेशले हाम्रो अस्तित्वलाई पढ्ने हो । जहाँ मौलिकता छ,आफ्नोपन छ त्यसलाई सबैले रुचिका साथ अध्ययन गर्छन । नाङ्गो शरीर,बेली नृत्य,अनावश्यक र रंगीन दृश्य लोकसंगीतको पहिचान कदापी हुन सक्दैन यसलाई हामी नेपाली स्वयम् त स्वीकार्न सक्दैनौ,नेपाली कला संगीत प्रति चासो राख्ने बिदेशीले स्विकार्दैनन त्यसैले आफ्नोपन,मौलिकतालाई मार्नुभन्दा जोगाउन तिर लागौं ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१