काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बारेमा विभिन्न अफवाह फैलिएपछि प्रधानमन्त्री ओलीले अस्पतालको आइसियु कक्षबाट भिडियो सन्देश जारी गरेका छन् ।
उनले सोमबार जारी गरेकाे सन्देशमा आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका छन् । उनले रोग सबैलाई लाग्ने र सूचना दिएर रोग नलाग्ने भन्दै आफूलाई अप्रत्याशित ‘एपेन्डिसाइटिस’को समस्या आइलागेको बताएका छन् ।
उनले भनेका छन्, ‘तपाईंहरु देखिरहनुभएको छ, मेजर अपरेसनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’
एपेन्डिसाइटिसको संक्रमण बाहिरसम्म फैलिएका कारण भएको ‘इन्फेक्सन’ हटाउन हप्ता १० दिन लाग्ने उनले जनाएका छन् । ‘मेरो स्वास्थ्य राम्ररी अघि बढिरहेको छ । सुधार भइरहेको छ’, उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले आफूले आइतबार १३ औं सागको उद्घाटन समारोह पनि हेरेको बताएका छन् । ‘साग हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकोमा खुसी लाग्या छ। म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्,‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु।’
एपेन्डिसाइटिसको समस्या आएपछि गएको मंगलबार प्रधानमन्त्री ओलीको महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सफल शल्यक्रिया गरिएको थियो ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६