काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् प्रभावित क्षेत्रमा पार्टीको झण्डा र पहिचान खुल्ने सामग्री प्रयोग नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले विपद्का बेला विशुद्ध सेवाको भावनाले काम गर्नुपर्ने बताए।
“अन्य पार्टीका नेता कार्यकर्ताले पार्टीको पहिचान गराउने कपडा लगाए, झण्डा बोकेर पार्टीको प्रचार गरिरहेका छन्। उनीहरू विवादमा आएका छन्,” उनले भने, “मैले त्यहाँ रहेका हाम्रा साथीहरूलाई त्यस्तो नगर्न भनेको छु। विशुद्ध सेवाको रूपमा जाऔँ, सेवा गर्दा जनताले आफैँ चिन्छन्।”
आङ्देम्बेले आफूले शनिबार प्रधानमन्त्रीलाई भेटेर विपद् प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने तथा विश्वासमा रहेका संघसंस्थालाई राहत र पुनर्निर्माणलगायतका काममा रोक लगाउन नहुने धारणा राखेको बताए।
प्रधानमन्त्रीले सबैलाई पहिचान गरेर राहत उपलब्ध गराउने जानकारी दिएको पनि उनले बताए।
बैठकमा आङ्देम्बेले प्रधानमन्त्रीसँग भएको भेट तथा प्रभावित क्षेत्रमा आफूले देखेको अवस्थाबारे जानकारी गराउँदै कांग्रेसले विपद् व्यवस्थापनमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३