डाेटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।
लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए । उनले भने, लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियाैं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौँ, उपचार गर्दागर्दै मृत्यु भयो । चिकित्सकले डेंगु हो भनेपछि, हामी आश्चर्यचकित भयौँ ।
जिल्ला बाहिर कहिल्यै नगएकी महिलालाई कसरी डेंगु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन् । डेंगु रोग लागेर निज महिलाको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् ।
मृतक मसालीलाई डेंगु र स्क्रप टाइफस गरी दुई रोग देखिएको मायामेट्रो अस्पतालका डा विष्णु जोशीले बताए । उनले भने, मृतकमा डेंगु र स्क्रप टाइफस रोगले धेरै सङ्क्रमण गरिसकेको थियो, उपचार सम्भव भएन र मृत्यु भयो ।
जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले भने, एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ, तर डोटीमा अहिलेसम्म पनि उक्त रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौँ ।
डा मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्छ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यसले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करिब तीन सय अण्डा पार्छ । ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेंगु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६