सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट नियुक्त तीन मन्त्रीले बिहीबार (भदौ ११) पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। नेकपाका तर्फबाट मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास, जुम्कित लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी र कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका रूपमा शपथ लिएका छन्।
तीन मन्त्रीले शपथ लिएसँगै कर्णाली प्रदेश मन्त्रिपरिषद्ले करिब एक महिनापछि पूर्णता पाएको छ।
मन्त्रालयको भागबन्डा टुंगिएपछि नेकपा (एमाले)ले भदौ ३ गते नै आफ्ना तर्फबाट तीन मन्त्री सरकारमा पठाएको थियो। तर, नेकपाभित्रको आन्तरिक विवादका कारण आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका थिएनन्।
नेकपाका तर्फबाट मुख्यमन्त्री बनेका मंगलबहादुर शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएपछि एमाले सरकारमा सहभागी भएको थियो। नेकपाले भने मन्त्री छनोटमा लामो समय लगाएको हो।
दलभित्र मन्त्री बन्न आकांक्षीको व्यवस्थापन तथा आन्तरिक सहमति जुटाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको थियो। नेकपाले आफ्नो भागमा परेका तीन मन्त्रालयका लागि मन्त्रीको नाम बिहीबार बिहान मात्रै टुंगो लगाएको थियो।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३