पोखरा । नेकपा (एमाले) ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको एमाले संसदीय दलको बोर्ड बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए ।
उनका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी भइरहेको छ । “एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ,” उनले भने, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिस्ट पार्टीलगायत अन्य दलहरूसँग एमालेले संवाद सुरु गर्छ ।”
अन्य प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता सहकार्य सुरु भइसकेको अवस्थामा गण्डकी प्रदेशमा पनि दुई दल मिलेर नयाँ सरकार निर्माणका लागि पहल अघि बढाइने थापा मगरले बताए ।
हाल नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी छन् । गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री छन् ।
गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरूले मन्त्रीको जिम्मेवारी पाएका थिए । अब एमालेले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकारको समीकरण फेरिने सम्भावना देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३