काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा कालो चश्मा लगाउनुपर्ने कारण खुलाउँदै संसद् सचिवालयलाई पत्र पठाएका छन् । उनले चिकित्सकको मेडिकल रिपोर्टसहित पत्र पठाएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
केही दिनअघि कार्यव्यवस्था समितिको बैठकमा सभामुख डिपी अर्यालले सांसदहरूलाई संसद् बैठकमा आउँदा कालो चश्मा नलगाउन निर्देशन दिएका थिए । आँखाको समस्याका कारण चश्मा लगाउनैपर्ने अवस्था भए चिकित्सकको रिपोर्ट पेश गर्नुपर्ने सभामुख अर्यालले बताएका थिए ।
सोहीअनुसार प्रधानमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकको रिपोर्टसहित संसद् सचिवालयलाई पत्र पठाएका हुन् ।
प्रधानमन्त्री शाह भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुँदैछन् । बैठकमा उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्री शाह बैठकमा कालो चश्मा लगाएरै सहभागी हुने भएका छन् ।
आफूलाई आँखाको सुख्खापनका कारण उज्यालो प्रकाशमा हेर्न समस्या हुने भएकाले कालो चश्मा लगाउनुपरेको प्रधानमन्त्री शाहले पत्रमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले दिएको मेडिकल रिपोर्टसमेत सचिवालयमा पेश गरेका छन् ।
रिपोर्टमा प्रधानमन्त्री शाहलाई उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्या देखिएको उल्लेख छ । परीक्षणका क्रममा उनलाई ‘ड्राई आई डिजिज’ अर्थात् आँखा सुख्खा हुने समस्या देखिएको चिकित्सकले बताएका छन् ।
उक्त समस्याका लागि आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने कार्बोक्सिमेथाइलसेलुलोज ०.५ प्रतिशतको आँखामा हाल्ने ड्रप प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।
यस्तै, उज्यालो प्रकाश भएको वातावरणमा रहँदा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास वा चस्मा (शेड्स) प्रयोग गर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।