यदि कसैलाई राति सुतेर बिहान उठ्ने बेलामा विशेष गरी खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने अवस्थालाई गाउट अथवा बोलीचालीको भाषामा युरिक एसिड भएको भनिन्छ ।
युरिक एसिडको मात्रा अत्यधिक भएमा खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ र शरीरको स-साना जोर्नीमा असर गर्छ । बेलैमा रोग पत्ता लाएर उपचार नगरे शरीरमा बढेको युरिक एसिड जोर्नीबाहेक मिर्गौला र शरीरका अन्य भागमा जमेर बसिदिन्छ र अरु समस्याहरु देखापर्ने गर्छन् ।
विभिन्न अध्ययन अनुसन्धानले देखाएअनुसार करिब १० देखि ८० प्रतिशतमा यो रोग वंशाणुगत हुने गरेको पाइएको छ । त्यसैगरी अस्वस्थकर खाना खाने, अत्यधिक मोटोपन भएका व्यक्तिहरू, धेरै जाँडरक्सीको सेवन गर्ने व्यक्तिहरू, शारीरिक अभ्यास नगर्नेहरू , धेरै व्रत बस्नेहरू, चिनी रोगका बिरामिहरू, रगत पातलो बनाउने औषधि, उच्च रक्तचापको औषधि र मिर्गौलाको औषधि सेवन गरिरहेकाहरूमा यो रोगको जोखिम उच्च रहेको पाइएको छ ।
विशेष गरी वयस्क महिलाहरूको दाँजोमा पुरुषमा यो रोग १० गुणा बढी हुने गरेको पाइएको छ र महिनावारी बन्द भइसकेका महिलामा पनि यो रोगको सम्भावना बढी हुन्छ ।
न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनको मेटाबोलिजम भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ जो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । कुनै कारणले जब मिर्गौलाको पिसाब छान्ने र युरिक एसिड बाहिर फाल्ने क्षमतामा कमि आउँछ तब युरिक एसिड जोर्नीमा गएर जम्मा हुन्छ र समस्या देखाउन थाल्छ ।
युरिक एसिडको उपचार गर्दा औषधि सँगसँगै सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको के खान हुने र के खान नहुने भन्ने हो ।
खान नहुने :
- रातो मासु, आन्द्राभुँडी, मुटु-कलेजो जसमा युरिक एसिड अत्यधिक मात्रामा हुन्छ।
- गेडागुडी, च्याउ, काउली, ब्रोकाउली, कुरिलो, पालुंगोको तरकारी
- मिठाई, सफ्ट ड्रिंक्स, आँप तथा अंगुरको जुस र अरू कृत्रिम जुसहरू
- रक्सीजन्य पदार्थहरू
खान हुने :
- गोलभेँडा, लसुन, प्याज, अमिला चिजहरू जस्तैः कागती, सुन्तला, दही
- स्याउ, केरा, कफी , ग्रीन टी
- अन्डा - जो प्रोटिनयुक्त खानेकुरा भए पनि युरिक एसिड बढाउँदैन
- प्रशस्त पानी पिउने र नियमित व्यायाम गरी शरीरको मोटोपन घटाउने
यो कुरा बुझ्न जरुरी छ कि हामी सबैको शरीरमा युरिक एसिड हुन्छ । युरिक एसिडको मात्रा ३ देखि ७ मिलिग्राम पर डेसिलिटर भएको अवस्थालाई सामान्य मानिन्छ जो हाम्रो शरीरका लागि आवश्यक छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, यस्तो अवस्थालाई युरिक एसिड बढेको भनिन्छ ।
(लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन् ।)
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६