कपिलवस्तु : कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षमा थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका नौ बिरामी फेला परेका छन् ।
वाणगङ्गा नगरपालिकामा सात र बुद्धभूमि नगरपालिकामा दुई बिरामी छन् । लुम्बिनी प्रादेशिक अस्तालका सामाजिक सेवा एकाइ प्रमुख दयासागर पन्थीका अनुसार कपिलवस्तु जिल्लाबाट नौ जनाले औषधि सेवन गर्दै आएका छन् । पन्थीले सिकलसेलका बिरामीको अवस्था पहिलेभन्दा अहिले सुधार भएको जानकारी दिए ।
उनले सिकलसेल एनिमियाको औषधिको अभाव भएकाले अहिले धेरै बिरामी रित्तो हात फर्किनुपरेको बताए । उनले भने, औषधि लिन आउने बिरामी पटकपटक आउँदै फर्कँदै गरिरहेका छन् ।
वाणगङ्गा नगरपालिकामा कूल जनसङ्ख्याको करिब ४५ प्रतिशत थारु समुदायको बसोबास छ । लुम्बिनी प्रादेशिक अस्तालमा औषधि सेवन गरिरहेका बिरामीको तथ्याङ्कानुसार सो नगरमा सिकलसेलका बिरामीको सङ्ख्या अरु नगरपालिकामा भन्दा धेरै छ । रक्तअल्पता हुनु र हँसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो ।
रोग लागेपछि विस्तारै शरीरका विभिन्न अङ्गले काम गर्न छाड्नाका साथै करिब १० देखि १५ वर्षपछि मात्र आफूलाई सिकलसेल रोग लागेको थाहा पाउन सकिने चिकित्सकको भनाइ छ । सिकलसेल एनिमिया भएका पति र पत्नीबाट जन्मिएका सन्तानलाई पनि सो रोग लाग्न सक्ने चिकित्सकले बताएका छन् ।
वंशाणुगत रुपमा सर्ने सो रोगबाट बच्ने उपाय विवाह गर्नुपूर्व सिकलसेल छ कि छैन भनेर जाँच गर्नुपर्ने वाणगङ्गा स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । सिकलसेल भएका बिरामीमा हातखुट्टाको जोर्नी र टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने घिमिरेको भनाइ छ ।
वाणगङ्गा नगरपलिकाले गत आवमा सिकलसेल एनिमिया रोगका लागि भनेर तीन लाख रुपैयाँ बजेट छुट्टयाए पनि फ्रिज भएको थियो । सो बजेट उपयोगमा नआएपछि चालु आवमा बजेट नै नछुट्टयाइएको घिमिरेले बताए । -रासस
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६