अहिले देशैभर मे मेजरमेन्ट मन्थ २०१९ मनाइँदै छ । देशका विभिन्न ठाउँमा चिकित्सकबाट रक्तचाप मापन गर्दै र उचित सल्लाह सुझाव दिँदै मे मेजरमेन्ट महिना मनाइँदै छ । इन्टरनेसनल सोसाइटी अफ हाइपर्टेन्सनको पहल र नेपालका संयोजकको सहयोगमा अङ्ग्रेजी मे महिनाभरि देशका विभिन्न ठाउँमा, विभिन्न संघसंस्था र स्वयंसेवकको सहयोगमा रक्तचाप नाप्ने कार्यक्रम भइरहेको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी एकाईका अध्यक्ष लोकेन्द्र अवस्थी उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकाले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण हुने बताउँछन् ।
मधुमेह र मृगौलाका बिरामीहरू, ३५ वर्ष नाघेका व्यक्तिहरू खासगरी पुरुष, ज्यादै मोटाएका, धूमपान मद्यपान गर्ने, उच्च मानसिक चिन्ता र तनावमा रहने, उच्च रक्तचापको पारिवारिक पृष्ठभूमि भएका, नुनको अधिक प्रयोग गर्ने, परिश्रम तथा व्यायाम नगरी आरामदायी जीवन बिताउने व्यक्ति र गर्भवती महिलामा उच्च रक्तचापको जोखिम बढी हुने चिकित्कहरू बताउँछन् ।
धेरैजसो मानिसमा उच्च रक्तचाप हुँदा पनि कुनै बाहिरी समस्याहरू नदेखिने तर टाउको दुख्दा, कान कराउँदा, आँखा राम्ररी नदेखेमा, छाती दुखेमा, रिंगटा लागेमा र खुट्टा सुन्निने जस्ता लक्षणहरू देखिएमा तुरुन्तै रक्तचाप नाप्नुपर्ने उनीहरू बताउँछन् ।
कस्तो जीवनशैली अपनाउने :
नियमित व्यायाम गर्नेः उच्च रक्तचाप कम गर्न नियमित व्यायाम गर्नुपर्दछ । व्यायामलाई बाध्यताका रुपमा नलिई बानीमा परिवर्तन गर्नु पर्दछ । नियमित गरिने दैनिक कार्य जसमा पसिना आउँदैन, मुटुको धड्कन र सास बढ्दैन, त्यसलाई व्यायाम भनिँदैन । त्यसैले सकेसम्म पसिना आउने गरी व्यायाम गर्ने गर्नु पर्छ । दिनहुँ २५–३० मिनेट व्यायाम गर्नाले ५–८ मिमि रक्तचाप घट्छ ।
स्वस्थकर खाना खानेः खाना व्यक्तिको जीवनसँग जोडिएको हुनाले स्वस्थ खाना खाने बानी बसाल्नु पर्दछ । बोसो, घिउ जस्ता चिल्लो पदार्थ असाध्यै कम मात्रामा खानुपर्छ । खानपानमा परिवर्तन गर्नाले ११ मिमि रक्तचाप घट्न सक्छ । सकेसम्म दाल, गेडागुड़ी, माछामासु, दूध, दही खाने बानी बसाल्नु पर्छ ।
नुनको मात्रा घटाउनेः थोरै मात्र नुन घटाउनाले ५–६ मिमि रक्तचाप घट्न सक्छ । प्रतिदिन बढीमा २३०० मिग्रा सकेसम्म १५०० मिग्राभन्दा कम नुन खानु बेस हुन्छ । स्वादका लागि नुन थपेर कहिल्यै खानु हुँदैन।
मोटाेपन घटाउनेः मोटाउनुको अर्थ रक्तचाप बढाउनु हो । मोटो मानिसलाई सुत्दा स्वास फेर्न गाह्रो हुन्छ र रक्तचाप झनै बढ्छ । अलिकति मात्रै पनि वजन घटाउनाले रक्तचाप घट्छ । एक किलो वजन घटाउनाले एक मिमि रक्तचाप घट्छ ।
मदिरा सेवन नगर्नु बेसः सकेसम्म मदिरा सेवन गर्ने बानी गर्नु हुँदैन । मदिरा विभिन्न खालका हुन्छन् । तिनमा अल्कोहलको मात्रा भिन्नभिन्न हुन्छ । पुरुषले प्रतिदिन ३६० मिलि बियर, १५० मिलि वाइन, ४५ मिलि कडा खालको रक्सी पिउँदा महिलाले आधा स्वास्थ्यलाई धेरै हानि नहुन पनि सक्छ ।
धूमपान नगर्नेः धूमपानले रक्तचाप बढाउँछ । क्यान्सर लगायत खतरनाक रोगहरू निम्त्याउँछ । यसैले धूमपान नगर्नु राम्रो हुन्छ ।
तनावमुक्त हुने प्रयास गर्नेः तनावले रक्तचाप बढाउँछ । तनावको कारण पत्ता लगाएर निराकरण गर्ने कोसिस गर्नुपर्छ । धेरै महत्त्वाकांक्षी बन्नुहुँदैन । सक्दो प्रयास गर्नु त पर्छ तर आफूलाई अरूसँग दाँज्ने काम साह्रै घातक हुन्छ ।
औषधि खाएर मात्र उच्च रक्तचाप नियन्त्रण नहुन सक्छ । स्वस्थकर जीवनशैली, नियमित औषधि सेवन एवं स्वास्थ्य परीक्षण तथा चिकित्सक बिरामीबीचको उचित समझदारीले मात्र उच्च रक्तचाप नियन्त्रण हुनसक्छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २९, २०७६